words per minute
17
ANUJKumar1472743
00:00
Speed
नेपाली राजनीतिमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गरी निर्वाचनमा होमिएका बामपन्थी दलहरु र तिनका नेता तथा कार्यकर्ता निर्वाचनको परिणामले हौसिएका छन् । हालै सम्पन्न निर्वाचनको परिणामले आम नेपाली जनताको राजनीतिक स्थिरतामार्फत विकास र समृद्धिको सपनालाई साकार बनाउने बाम बाटोको प्रतिक्षामा छन् ।
आजसम्मको नेपाली राजनीतिक अभ्यासले निर्वाचन जनतालाई झुठ्ठा सपना बाँड्ने एक जालसाजी खेलको रुपमा बुझ्ने बुझाउने आवधिक प्रक्रियाको रुपमा अर्थ्याएको छ । अनेकन राजनीतिक प्रशिक्षण र कोरा राजनीतिक दर्शन र आदर्शले पेट भरेका राजनीतिक दलका नेता कार्यकर्ता र आम जनता तिनले चुनाव ताका बाँड्ने फोस्रा सपनाबाट आजित छन । राजनीतिक आन्दोलनका नाममा राजतन्त्र, प्रजातन्त्र, पंचायत, लोकतन्त्र, गणतन्त्र आदि अनेकन शब्दावलीमा मात्र परिवर्तन हुने राज्य व्यवस्थाले प्रत्यक्ष रुपमा जनताको जनजीविकामा अनुभूति हुने गरी सुशासन, विकास, जनता र राष्ट्रको समृद्धिको परिवर्तनको आम आशा अपेक्षा आकासिएको छ ।
नेपालको राजनीतिक इतिहासमा पटक-पटक स्पष्ट र दुई तिहाई बहुमत समेत दिएर आशा र अपेक्षा गरेको नेपाली कांग्रेसबाट उक्त आशाको परिपूर्ति हुन नसकेको ठहर गर्दै जहिले पनि स्पष्ट या दुई तिहाइ बहुमत नपाएको रोइलो गरिरहने र सधैँ निर्वाचनको मुखमै टुट्ने फुट्ने बामपन्थी दलहरुलाई जुटेको मौका छोपी भारी बहुमत सहित राज्य संचालनको जिम्मा लगाउदैछन् । राज्यको पुनसंरचनासँगै संविधानसभाबाट जारी गरेको संघीय नेपालको एक्काइसौं शताब्दीको विश्व मानचित्रमा समृद्ध मुलुकको परिचय बनाउने बाटो बामपन्थी दलहरु र तिनका नेताहरुसँग के छ त ? अब आम जनताको चासोको विषय बनेको छ ।
राजनीतिमा बनिबनाउ बाटो हुदैँन । त्यसो त राजनीतिको कुनै रेडिमेड रुट हुदैँन । बामको बक्र बाटो मूलतः शास्त्रीय शब्दजाल, विचारको विश्लेषण, नीतिमा बहस चलाएर नेता केन्द्रित हुने र कुनै बहाना बनाएर बिकल्प खोज्ने प्रवृतिबाट बेसी प्रभावित छ । मार्क्सवादी साहित्यका शब्द शब्द केलाएर विचारको बहसमा खरो उत्रन नेपालका बाम राजनीतिक खेलाडीहरु माहिर मानिन्छन । नीतिमा आम नेता कार्यकर्तालई झुम्म बनाएर नेता केन्द्रित हुनमै बाम खेलाडीहरु लामो समयदेखि अभ्यस्त छन् ।
अहिलेको परिवर्तित बामपन्थी चुनावी गठबन्धन र त्यसले निम्त्याएको माओवादी केन्द्र र एमालेको पार्टी एकता अनेकन आशंका र आंकलनका वीच अनिवार्य बनेको छ । यतिबेला दुई ठूला दलका नेताहरुको व्यवस्थापनको पिरलो आम बाम राजनीतिमा चर्चाको विषय बनेको छ । कतिपय राजनीतिक विश्लेषकहरु नीतिमा बहस केन्द्रित गरेर मात्र नेताको व्यवस्थापनको विषय उठान गर्नुपर्ने धारणा राख्छन तथापी नेताले नै नीतिमा केन्द्रित गर्ने भएकाले नेताको व्यवस्थापनको विषयलाई लिएर कतै यो पार्टी एकता नै धरापमा पर्ने त होइन भन्ने आम आशंका आकासिएको छ ।